अवकाश कोषमा रहेको १ अर्ब ७५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

बैंकले आइतवार सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा आगामी माघ ३ देखि २०७९ माघ ३ गतेसम्म ३६५ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका कम्पनीहरुका लागि बैंकले निक्षेपमा राख्ने रकम छुट्याएको छ ।

बैंकले क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड २६ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ७५ लाख रुपैयाँ गरी कूल १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्न लागेको हो । १ अर्ब ४० लाख लगानीमा रहि रहेको रकम हो भने ३५ नयाँ लगानी रहेको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस २० गते ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

प्रस्ताव पेश गर्दा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग, अवकाश कोष इकाईलाई सम्बोधन गर्नुका साथै अनिवार्य रूपमा उपदान तथा पेन्सन कोष लगानीको ब्याजदरसम्बन्धी प्रस्ताव पत्र भनी अनिवार्य उल्लेख गर्नुपर्ने बताइएको छ ।

यसको लागि सम्बन्धित बैंकले निश्चित शर्तहरु पालना गर्नुपर्ने पनि बैंकले बताएको छ ।

यस्ता छन् शर्तहरुः

-बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने,

– बैंकबाट तोकिएको न्यूनतम् पूँजीकोष कायम भएको हुनुपर्ने,

– निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने,

-खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने,

-अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको हुनुपर्ने,

– रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने,

-कुनैपनि प्रकारको कारबाहीमा परेको भए, फुकुवा भएको कतिमा ६ महिना पूरा भएको हुनपर्ने,

– सर्वसाधारणको लागि शेयर जारी गरिसकेको हुनुपर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here