आयातमा गरेको कडाइले ऋण विस्तार नियन्त्रणमा, सीडी रेसियोमा सुधार

काठमाडौं, २० पुस । राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै वाणिज्य बैंकहरुमा ऋण विस्तार रोकिन थालेको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पुस तेस्रो सातासम्मको तथ्यांकले ऋण विस्तार नियन्त्रणमा आएको देखाएको हो । पुसको पहिलो साता ४ अर्ब रुपैयाँले घटेको निक्षेप दोस्रो सातासम्म आइपुग्दा १४ अर्ब रुपैयाँले बढेको छ ।

वाणिज्य बैंकमा एक सातामा निक्षेप १४ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह ११ अर्ब रहेको छ । पुस पहिलो साता बैंकको कर्जा प्रवाह ३ अर्ब रुपैयाँ रहेको थियो ।

पुस ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब निक्षेप संकलन गरेका बैंकले एक साताको अवधिमा अर्थात पुस १६ गतेसम्म आइपुग्दा निक्षेप १४ अर्ब रुपैयाँले बढाएर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै बैंकमा कर्जाको माग पनि बढ्न थालेको छ । पुस ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह १६ गतेसम्म आइग्पुग्दा ११ अर्ब रुपैयाँले बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो एक सातामा बिदेशी मुद्राको ऋण १० अर्बले घटेको छ भने निक्षेप ६ अर्ब रुपैयाँले घटेको छ। यद्यपी चालु आर्थिक बर्ष निक्षेपभन्दा ऋणको बिस्तार निक्कै उच्च छ।

निक्षेप बढ्दै गएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा पनि सुधार देखिएको छ । गत महिना ९२ प्रतिशतसम्म पुगिसकेको सीडी रेसियो अहिले ९०.५४ प्रतिशत कायम भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुसको तेस्रो साता बैंकिङ क्षेत्रकै सीडी रेसियो ९०.५४ प्रतिशत कायम भएको हो । तर, वाणिज्य बैंकहरुको भने ९१.०२ प्रतिशत छ । अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ ।

पछिल्लो समय निक्षेप घटिरहँदा पनि अवधिमा कर्जा प्रवाह भने बढेको थियो । जसको कारण पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here