साँच्चै अभागी नै हुन् त मेस्सी ? अब के गर्लान ?

काठमाडौं, १८ असार । ब्राजिलमा जारी कोपा अमेरिकाको पहिलो सेमीफाइनलमा अर्जेन्टिना चिर प्रतिद्वन्द्वी ब्राजिलसँग २–० गोल अन्तरले पराजित भएसँगै मेस्सीको देशलाई ठूला प्रतियोगिता जिताउने सपना तुहिएको छ ।

बुधबार बिहान ब्राजिलको बेलो होरिजोन्टे रंगशालामा भएको उक्त खेललाई धेरैले चासोपूर्वक हेरेका थिए । किनभने यो खेल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको सपना र भविष्यसँग जोडिएको थियो ।

यससँगै अब मेस्सीले के गर्लान भनेर धेरैले बहस गर्न थालेका छन् । अर्जेन्टिना कोपा अमेरिकाबाट बाहिरिएपछि माइक्रो ब्लगिङ साइट ट्विटरमा मेस्सी र अर्जेन्टिना ट्रेण्डिङमा रहेको छ ।

करीब ९ लाखले मेस्सी ह्यासट्याग राखेर ट्विट गरेका छन् भने १० लाख भन्दा धेरैले अर्जेन्टिना ह्यासट्यागमा ट्विट गरेका छन् ।

मेस्सीमाथि किन छ दबाब ?

अर्जेन्टिना र मेस्सीका समर्थकहरुले आजको खेल अर्जेन्टिनाले नै जित्ने अनुमान गरेका थिए तर, १७ औं मिनेटमा ब्राजिलका ग्याब्रियल जेसुसको गोलले उनीहरुलाई झस्काइदियो ।

अझै पनि अर्जेन्टिनाले कमब्याक गर्ने आश गरीरहेका समर्थकहरुको सपना ७१ औं मिनेटमा फरमिन्होको गोलले तुहाइदियो ।

अर्जेन्टिनाको टिमले खेलमा फर्कन अन्तिमसम्म कोसिस गरेपनि उनीहरुको सबैप्रयास निरर्थक बन्यो । र, सँधै झैँ यसपाली पनि त्यहि भयो जुन अर्जेन्टिना समर्थकले चाहेका थिएनन् ।

क्लब फुटबलमा एक दशक भन्दा बढी समय राज गरेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीलाई जसरी पनि देशको लागि एउटा ठूलो प्रतियोगिता जित्नुपर्ने दबाब छ । तर, हरेक जसो ठूला प्रतियोगितामा उनी चुक्ने गरेका छन् ।

स्पेनी क्लब बार्सीलोनाबाट खेल्ने उनले क्लबका लागि सम्भव सबै उपाधिहरु जितिसकेका छन् तर, देशको कुरा आउँदा उनको हात अझैसम्म पनि रित्तो छ । त्यसैले आलोचकहरुले उनलाई पैसाको पछिमात्रै कुदेको आरोप पनि लगाउँछन् ।

उक्त आरोपलाई गलत प्रमाणित गर्न पनि उनी देशको लागि केहि जित्न चाहन्छन् तर, अन्तिममा हात लाग्छ शुन्य ।

सन् २००८ मा युवा टिमको रुपमा जितेको ओलम्पिक गोल्ड मेडल बाहेक उनले देशबाट केहि जित्न सकेका छैनन् ।

अन्तराष्ट्रिय पदक बिना उनलाई महान फुटबलरको दर्जा दिनुहुन्न भन्नेहरु पनि धेरै छन् त्यसैले उनी हरेक पटक आफुलाई प्रमाणित गर्न प्रयासरत रहन्छन् तर, असफलता भन्दा केहि हात लाग्दैन ।

के साँच्चै अभागी हुन् त मेस्सी ?

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग निराश बनेको अर्जेन्टिना सन् २०१५ र १६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग निराश बन्न पुग्यो ।
त्यसपछि सन् २०१८ को रुस विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको अर्जेन्टिना अहिले पनि सेमिफाइनलबाटै घर फर्किएको छ ।

सन् २०१४ को विश्वकपमा सर्वोत्कृष्ट खेलाडी चयन भइ गोल्डेन बल जित्दा मेडल लिने बेलामा मेस्सीको आँखा भने विश्वकप ट्रफी तिरै थियो । विश्वकप ट्रफीलाई हेरिरहेको उनको उक्त तस्वीर त्यतिखेर धेरै नै चर्चित समेत भएको थियो ।

उक्त विश्वकपमा पेनाल्टी सुटआउटमा नेदरल्याण्डलाई हराँउदै २८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिनाले उपाधी जित्ने धेरैको अनुमान थियो ।

निर्धारित समयमा कुनै गोल नभएपछि अतिरिक्त समयमा खेलको १ सय १४ औं मिनेटमा जर्मनीका लागि सब्स्टिच्युट खेलाडीको रुपमा मैदान छिरेका मारियो गोट्जेले गोल गरेपछि अर्जेन्टिनाको आशामा तुषारापात भयो ।

सन् २०१५ मा कोपा अमेरिकाको फाइनलमा पनि निर्धारित समयमा कुनै गोल नभएपछि चिलीसँग पेनाल्टि सुटआउटमा अर्जेन्टिना ४—१ गोल अन्तरले हार्यो ।

त्यसपछि लगत्तै अर्को वर्ष कोपा अमेरिकाको १०० वर्ष पुगेको अवसरमा भएको विशेष संस्करणमा पनि अर्जेन्टिना फाइनलमा पुग्यो । उक्त प्रतियोगिता फेरि प्रतिद्वन्द्वीको रुपमा चिली नै फाइनलमा आयो ।

यसपटक भने मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले नै कोपा अमेरीका जितेर चिलीसँग बदला लिने धेरैको अनुमान थियो ।

तर, नियमित समयमा कुनै टिमले पनि गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो र पनि कुनै गोल भएन । त्यसपछि पेनाल्टी सुटआउटमा मेस्सीले मिस गरे र फेरि एकपटक चिलीले अर्जेन्टिनालाई ४—२ गोलले स्तब्ध पार्यो ।

लगातार तीन वर्ष तीन ठूला प्रतियोगिताको फाइनलमा पुगेर हारेपछि मेस्सी धेरै नै निराश भए । अर्जेन्टिनी टिम र मेस्सीको पनि आलोचना भयो । मेस्सी पनि भित्रभित्रै टुटीसकेका थिए र उनले तत्काले सन्यासको घोषणा गरिदिए ।

उनको यो हठात निर्णयबाट संसार भरका फुटबल खेल प्रेमीहरु निराश भए । २९ वर्षको उमेरमै राम्रो लयमा खेलिरहेको एक स्टार खेलाडीबाट अचानक सन्यासको अपेक्षा कसैले पनि गरेका थिएनन् ।

मेस्सीलाई मनाएर सन्यास फिर्ता लिन उनका समर्थकहरु र अर्जेन्टिनाको फुटबल संघ लागे तर सकेनन् त्यसपछि अर्जेन्टिनाका राष्ट्रपति स्वयमले आगामी विश्वकप जित्नुपर्छ भनेर मेस्सीलाई टिममा फर्कन आग्रह गरे ।

केही समयपछि उनले सन्यास फिर्ता लिए र उनको ध्यान सन् २०१८ को रुस विश्वकपतर्फ केन्द्रित भयो ।

तर, रुस विश्वकपमा टिमले राम्रो खेल्न सकेन । पहिलो खेलमै आइसल्याण्ड जस्तो कमजोर मानिएको टिमसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोयसियासँग ३–० ले पराजित भयो । त्यसपछि अन्तिम खेलमा नाइजेरियालाई २–१ गोलले जितेर अन्तिम १६ मा स्थान बनायो ।

अन्तिम १६ को राउण्डमा फ्रान्ससँग ४–३ गोलअन्तरको पराजय पछि रुस विश्वकप पनि अर्जेन्टिनाको हातबाट फुस्कियो ।

त्यसपछि यसपालीको कोपा अमेरिकालाई मेस्सीको परीक्षाको रुपमा हेरिएको थियो तर, यस प्रतियोगितामा पनि सेमीफाइनलबाटै बाहिरिएपछि देशलाई ठूलो अन्तराष्ट्रिय उपाधी जिताउने मेस्सीको सपना फेरि एकपटक चकनाचुर भएको छ ।

भाग्यमानी रोनाल्डो

समकालिन फुटबलमा मेस्सीसँग प्रतिस्पर्धा पोर्चुगलका स्टार रोनाल्डोसँग रहेको छ । त्यसैले त कहिलेकाँही फुटबलका समर्थकहरु बीच मेस्सी महान कि रोनाल्डो महान भनेर वादविवाद नै पर्छ ।

मेस्सीका फ्यानले मेस्सीलाई ठूलो मान्छन् भने रोनाल्डोको फ्यानले रोनाल्डोलाई ठूलो मान्छन् ।

पछिल्लो दशकमा फुटबलको दुनियाँमा दबदबा कायम गरेका यी दुई खेलाडीको आ आफ्नै खेल शैली छ तर, गोल गर्न भने दुवै माहिर छन् ।

अहिलेसम्म दुवै खेलाडीले ५–५ वटा फिफा बालोन डिओर अवार्ड प्राप्त गरेका छन् । क्लब फुटबलमा दुवैले धेरै सफलता हात पारेका छन् ।

मेस्सीले देशको लागि अन्तराष्ट्रिय प्रतियोगिता जितेका छ्रैनन् तर, रोनाल्डोले भने दुईवटा अन्तराष्ट्रिय उपाधी जितिसकेका छन् त्यसैले यस मामिलामा रोनाल्डोलाई भाग्यमानी मानिन्छ ।

विश्वकप जित्न नसकेपनि रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को यूरोकप र २०१९ को यूरोप नेशन्स कप गरी दुईवटा अन्तराष्ट्रिय उपाधी जितेको छ ।

टिमले खासै गतिलो प्रदर्शन नगरेको अवस्थामा पनि रोनाल्डोको कप्तानीमा पोर्चुगलले यूरो २०१६ को उपाधी उचालेको थियो ।

किन सँधै हार्छ अर्जेन्टिना ?

स्टार फरवार्डहरु भएको अर्जेन्टिनाको समस्या डिफेन्समा रहेको विश्लेषकहरु बताउँछन् । अन्य देशहरुको तुलनामा अर्जेन्टिनको डिफेन्सलाई कमजोर नै मानिन्छ । सन् २०१८ को विश्वकपमा त अर्जेन्टिना झण्डै छनोट चरणबाट नै बाहिरिएको थियो ।

विभिन्न देशका लिगमा छुट्टाछुट्टै व्यावसायीक क्लबहरूबाट खेल्ने खेलाडीहरू भएकाले पनि देशबाट खेल्दा उनीहरूबीच तादतम्यता नमिल्ने भएकाले पनि अर्जेन्टिनाले हार्ने गरेको केहिको धारणा छ ।

त्यस्तै धेरैले भने पुरै टिमको भार मेस्सीमाथि भएको र उनले कहिलेकाँही राम्रो खेल्न नसक्दा अर्जेन्टिनाले हार्ने गरेको बताउँछन् । अर्जेन्टिनी टिम हरेक खेलमा मेस्सीमा मात्रै निर्भर भएको कारण पनि यस्तो समस्याहरु आएको भनेर चर्चा हुने गर्छ ।

कोपा अमेरिकाबाट बाहिरिएपछि मेस्सीले सन्यास लिन्छन् की भनेर केहिले आशंका गरेका छन् ।

उनले के गर्छन् भन्न्र बारेमा अहिल्यै मुख त खाेलेका छैनन् । तर, उनले अब सन् २०२२ को विश्वकप खेलेर अर्जेन्टिनालाई जिताउने लक्ष्यसाथ अगाडि बढ्नेमा उनका धेरै समर्थकहरु आशावादी छन् ।

याे पनि पढ्नुहाेस्ः

अभागी मेसी : बाहिरियो अर्जेन्टिना

चर्चित फुटबलर मेस्सीको जीवनशैलीः कति कमाउँछन् ? कस्तो घरमा बस्छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here