काठमाडौं, २६ पुस । राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै वाणिज्य बैंकहरुमा ऋण विस्तार रोकिन थालेको छ ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पुस चौथो सातासम्मको तथ्यांकले ऋण विस्तार नियन्त्रणमा आएको देखाएको हो ।
निक्षेप संकलन दिनप्रतिदिन बढीरहेको छ । जसका कारण बैंकहरुको औसत सीडी रेसियो पनि सहज बन्द गएको छ।
तथ्यांकअनुसार पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह ८ अर्ब रहेको छ ।
पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
पुस १६ गतेसम्म ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले पुस २३ गतेसम्म ४१ खर्ब ८ अर्ब रुपैयाँ गरेका छन् ।
निक्षेपमा सुधार आएसँगै बैंकहरुको औसत सीडी रेसियोमा ९० प्रतिशत मुनि झरेको छ। गत पुस १६ गतेसम्म औसत सीडी रेसियो ९०.७६ प्रतिशत रहेकोमा पुस २३ गतेसम्म घटेर ८९.६८ प्रतिशतमा झरेको छ।