नेप्सेको सीइओको लागि तीन जना छनोट, कसको सम्भावना बलियो ?

काठमाडौं, २६ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि तीन जनाको नाम चयन भएको छ ।

छनोट समितिले आवेदनमध्ये मूल्यांकनका आधारमा यसअघि परेका उत्कृष्ट ५ जनाबाट तीन जनाको नाम छनोट गरेको हो ।

नेप्सेमा सीइओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा बनेको सिफारिस समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम छनोटमा पारेको छ ।

पाँच जनाको सूचीमा परेका प्रविन पन्दाक र रमेश घिमिरे तीनजनाभित्र अटाएनन् । अब कार्की, भण्डारी र श्रेष्ठ मध्ये एक जना नेप्सेको सीइओमा नियुक्त हुनेछन् ।

आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ ।

छनोटमा परेका उम्मेदवारहरुका लागि आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतिकरणको मिति तय गरिएको थियो । त्यसको आधारमा तीन जना छनोट भएका हुन् । तीमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीइओ छान्नेछ ।

सिफारिस समिति समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् ।

सिफारिसमा परेका तीन जनामध्ये कार्की नेकपा माओवादी निकट भनेर निचिन्छन् ।

उनी सिंचाई मन्त्रालयबाट सेवानिवृत्त भएका निजामति कर्मचारी हुन । स्रोतका अनुसार शेयर बजारका दुई वटा निकायमा नेपाली काग्रेस, माओवादी र निक्षेप तथा कर्जा सुरक्षण कोषमा नेकपा एमाले (एकिकृत समाजवादी) ले भागबण्डा गरेका छन् ।

नेप्से माओवादीको भागमा परेकाले अर्थमन्त्री जनार्दन शर्मासँग नजिक मानिएका कार्कीले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पाउने सम्भावना रहेको स्रोतले बताएको छ ।

श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए । साउदले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here