उपत्यकाको विभिन्न गतिविधिमा रोक, आजदेखि के-के गर्न पाइँदैन ?

काठमाडौं, २८ पुस । कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् ।

तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानीसहितका आदेश जारी गरेको हो ।

आदेशानुसार अब अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ ।

यस्तै, आउँदो माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन ।

२५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायत कार्यहरू गर्न पाइँदैन ।

सार्वजनिक सवारीसाधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । मास्क नलगाई सवारीसाधनमा यात्रा गर्न पाइने छैन ।

औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने आदेशमा उल्लेख छ ।

कोरोना सम्बन्धी आदेश प्रभावकारी पालना गराउन सुरक्षा निकायबाट आकस्मिक तथा नियमित अनुगमन गरिने जनाइएको छ ।

अनुगमनमा अवज्ञा गरेको पाइएमा सङ्क्रामक ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

यस्तै औषधिलगायत अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने तथा कालोबजारी गर्ने तथा आपूर्तिमा अवरोध गर्नेलाई कानुनबमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here