यसरी लिनुहोस् अनलाइनबाट क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र

काठमाडौं, २८ पुस । सरकारले माग ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनको लागि कोरोना विरुद्ध खोप लगाएको कार्ड देखाउनै पर्ने वाध्यकारी व्यवस्था कार्यान्वयन गर्दैछ ।

सीसीएमसीसीको सिफारिस अनुसार नै गृह मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै खोप कार्डलाई अनिवार्य बनाएको छ ।

यही माघ ३ गतेदेखि लागू हुनेगरी सार्वजनिक स्थानमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश, आन्तरिक हवाई यात्रा गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप कार्ड देखाएर मात्रै प्रवेश दिने व्यवस्था गरेको हो ।

खोप कार्ड नहुनेले रेष्टुरेन्टमा खाजा तथा खाना खान जान पाउने छैनन् । यस्तै, प्लेज चढ्न वा आफन्तलाई स्वागत तथा विदाई गर्न एयरपोर्ट जान पाउने छैनन् ।

सिनेमा हेर्न सिनेमा हल जान पनि खोप कार्ड अनिवार्य भएको छ । यतिमात्रै होइन, रंगशालामा गएर गेम हेर्न वा सार्वजनिक पार्कमा गएर टहलिन मन लाग्यो भने पनि खोप लगाएको कार्ड देखाएपछि मात्रै त्यसो गर्न पाइनेछ ।

आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य रुपमा खोप कार्ड भएको हुनुपर्नेछ । सार्वजनिक सेवा भनेको सरकारसहित सार्वजनिक निकायहरुले प्रवाह गर्ने सेवा हो । सरकारको निर्णय अनुसार आगामी माघ ७ गतेदेखि तपाईंसँग खोप लगाइसकेको प्रमाणपत्र (खोपकार्ड) छैन भने कर कार्यालयमा गएर तिर्न पाउनु हुन्न ।

यसरी लिनुहोस् अनलाइनबाट

स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न https://vaccine.mohp.gov.np/public-request-form मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।

आवेदनमा परिचय पत्र वा पासपोर्टको फोटो, पासपोर्ट साइज फोटो र खोप कार्डको फोटो अपलोड गर्नुपर्छ ।

त्यसपछि आएको रजिष्ट्रेसन नम्बर सुरक्षित राख्न मन्त्रालयले आग्रह गरेको छ । भने आवेदन प्रमाणिकरण हुन कम्तीमा २४ देखि ४८ घण्टासम्म लाग्ने मन्त्रालयले जनाएको छ ।

यस्तै, https://vaccine.mohp.gov.np/search मा गइ आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी आफ्नो आवेदनको अवस्था बुझ्न सकिन्छ ।

अन्तत: आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरि प्रिन्ट गरेर प्रयोग गर्न सकिन्छ । यदि आवेदन स्वीकृत नभएको खण्डमा पुन सोही फारमलाई सच्याएर पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

कुनै प्राविधिक समस्या आएमा जोन्सन्स एण्ड जोन्सन्सको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य संस्था भएको स्थानिय पालिकाको स्वास्थ्य शाखामा सम्पर्क समेत मन्त्रालयले आग्रह गरेको छ । साथै यो प्रमाणपत्र कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक नपर्ने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here