ट्राफिक जरिवाना अब ‘किअस्क’ मेसिनबाट पनि तिर्न सकिने, यसरी तिर्नुहोस्

काठमाडौं, २८ पुस । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना प्रभु-पेको ‘किअस्क’ मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्‌घाटन गरेका हुन् ।

महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो ।

पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र QR Payment बाट समेत जरिवाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउदै आमसेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस् भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए ।

उनले किअस्क मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने बताउँदै यसले बैंकमा गएर लामो समय लाइनमा बस्ने झन्झटबाट मुक्त हुने र समयको समेत वचत हुने धारणा व्यक्त गरे ।

ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिलाई क्रमश: परिस्कृत गर्दै आजैदेखि मेसिनमा नगद प्रयोग गरी जरिवाना तिर्न सकिने सेवा सुरु गरेको छ ।

प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरि किअस्क मेसिन जडान गरी सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।

कसरी तिर्ने मेसिनबाट जरिवाना ?

सर्बप्रथम प्रभु-पेको किअस्क मेसिन(KIOSK) मा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरि स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरि नेक्सट बटन थिच्चनुहोस ।

त्यसपछि देखिने चिट नम्बर लगायतको सुचना चेक गरि नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस । भुक्तानी सफल भए पश्चात प्रिन्ट भएको रसिद सहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।

कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसमेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी सञ्जीव शर्मा दासले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here