बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, तीन पालिका अझै बैंकविहीन

काठमाडौं, ३० पुस । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७८ मंसिर मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या १७, वित्त कम्पनीको संख्या १७, लघुवित्त वित्तीय संस्थाको संख्या ६७ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार १ सय ८३ वटा पुगेको छ । गत असार मसान्तसम्म शाखा संख्या ९ हजार ७ सय ६५ रहेको थियो । २०७३ असारमा यो संख्या ४ हजार २७४ मा सीमित थियो ।

मंसिरसम्म वाणिज्य बैंकको शाखासंख्या ४८४७ रहेको छ । विकास बैंकको १०५९ वित्त कम्पनीको २४८ र लघुवित्त वित्तीय संस्थाको ५०५९ शाखा रहेका छन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ मंसिर मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन्।

तीन पालिकामा अझै पुगेन बैंक

देशका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमसान्तसम्ममा देशका तीन स्थानीय तह मात्रै वाणिज्य बैंक पुग्न सकेको छैनन् । अघिल्लो वर्षको सोही अवधिसम्म देशका ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेका थिए ।

राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएको भए पनि अझै त्यो पूरा हुन सकेन ।

राष्ट्र बैंकका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् भने वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरएक पालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छ ।

वाग्मती प्रदेशको धादिङको रुवी भ्याली गाउँपालिका, कर्णाली प्रदेशमा जाजरकोटको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिममा बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here