अन्तत: तोडियो हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर

काठमाडौं ३०, पुस ।

मर्जर प्रक्रिया सुरु भएको करिब आठ महिना पछि हिमालयन बैैक र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर तोडिएको छ । शुक्रबार हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरेपछि प्रक्रिया तोडिएको हो ।

मर्जर विषयमा सेयरधनीहरुबीच विवाद भएपछि उक्त प्रस्ताव पारित हुन नसकेको हो । मर्जर सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैंकले बहुमतका आधारमा पारित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भएको मतदानमा ४२ प्रतिशत सेयरधनीले मर्जरको विपक्षमा र ४३ प्रतिशत पक्षमा मत परेको थियो । मर्जर प्रस्ताव पारित हुन ७५ प्रतिशत सेयरधनीको सहमति हुनुपर्छ ।

सेयरधनीहरुमध्ये खासगरी कर्मचारी संचयकोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेशनलले मर्जरको विपक्षमा रहेपछि मर्जर प्रस्ताव पारित हुन नसकेको हो । हिमालयन बैंकमा संचय कोषको १४.८७ प्रतिशत सेयर लगानी छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यसरी ४२ प्रतिशत सेयरधनीले विमति राखेपछि हिमालयन बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुन नसकेको हो ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर लगानी छ । यो बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । दोस्रो ठूलो सेयरधनी कर्मचारी सञ्चय कोष हो । बैंकमा कोषको १४.८७ प्रतिशत सेयर छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर छ । शशिकान्त अग्रवालको २.६५ प्रतिशत, अन्जु खेतानको ०.७७ र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत सेयर लगानी छ । बाँकी सेयर सर्वसाधारण र साना लगानीकर्ताको छ ।

दुबै बैंकले गरेको सम्पत्ति तथा दायीत्व मूल्यांकन (डीडीए)मा कर्मचारी संचय कोष लगायत करिब ३६ प्रतिशत सेयरधनीहरुको चित्त बुझेको थिएन । दुबै बैंकको डीडीए अनुसार हिमालयन बैंकको एक कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको पनि एक कित्ता सेयर हुने भन्ने छ । त्यो मूल्यांकनमा हिमालयन बैंकको सम्पत्तिको कम मूल्यांकन गरिएको र इन्भेष्टमेन्टको बढी गरिएको भन्दै कोष लगायत सेयरधनीले विरोध गर्दै आएका थिए । यसकारण आजको साधारण सभामा उनीहरुले मर्जरको विपक्षमा मतदान उभिएका हुन ।

कोषले स्वतन्त्र विज्ञद्धारा गरेको अध्ययनमा हिमालयन बैंकको १ कित्ता सेयर बराबर इन्भेष्टमेन्टको ०.७८ कित्ता सेयर हुने भन्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here