काठमाडौं, ४ माघ । चालू आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकहरुको नाफा १९ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु वर्षको ५ महिना (मंसिर मसान्तसम्म) मा २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो गत वर्ष सोही अवधिको तुलनामा ३ अर्ब ९४ करोड बढी हो ।
तथ्यांक अनुसार कात्तिकमा भने समग्र वाणिज्य बैंकहरुको कुल नाफा २३ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी रहेको थियो ।
सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।
यसैगरी, दोस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड र तेस्रोमा नबिल बैंकले १ अर्ब ८९ करोड रुपैयाँ नाफा गरेका छन् ।
पछिल्लो समय आक्रमक कर्जा विस्तार गर्दै आएको एनआइसीले नबिललाई चालु आवको पहिलो त्रैमासदेखि पछि पार्न थालेको हो ।
चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो ग्लोबल आइएमईले आक्रमक कर्जा विस्तारसँगै नाफामा नबिललाई पछि पारेको हो ।
नबिल १ अर्ब ८९ करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ८८ करोड, प्राइम कमर्सियल बैंक १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् ।
मंसिर मसान्तसम्ममा अर्ब भन्दा बढी नाफा कमाउने बैंकहरुको संख्या ११ रहेको छ । प्रभु बैंकको खुद नाफा १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६ करोड खुद नाफा कमाएका छन् ।
सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले समान १ अर्ब ३३ करोड, मेगा बैंक १ अर्ब २६ करोड र नेपाल बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
सेन्चुरी बैंकको खुद नाफा भने सबैभन्दा थोरै देखिएको छ । ५ महिनामा यस बैंकले ४० करोड २५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
सिभिल बैंकको पनि ४१ करोड ११ लाख रुपैयाँ मात्र खुद नाफा रहेको छ ।