काठमाडौं, ४ माघ । केहीदिन देखि उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड, ६० लाख ४ हजार ५३० कित्ता शेयर किनबेच भएका छन् ।
सोमवारको तुलनामा कारोबार रकममा सुधार आएको छ । त्यसदिन ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँ बराबरको रुपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ समूहमध्ये ९ वटाको परिसूचक राताम्मे भएका छन् भने ४ वटा हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा बैंकिङ २२ , होटल तथा पर्यटन ४२, अन्य उपसमूह २९ अंकले बढेको छ ।
निर्जीवन बीमा १७८, उत्पादन समूह १८६, जलविद्युत ३६ अंकले घटेको छ । विकास बैंक १३०, फाइनान्स ६९, लगानी समूह २ र माइक्रोफाइनान्स ८९ अंकले घटेको छ ।
दुई कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ ।
आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ ।
यस कम्पनीको २८ करोड ११ लाख भन्दा बढीको कारोबार भएको छ । अरुणभ्याली हाइड्रोपावर कम्पनीको २५ करोड ७१ लाखको कारोबार भएको छ ।
मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।