बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कडाइ, सामाजिक उत्तरदायित्वको रकम जथाभावी खर्च नगर्नू

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायित्व अन्तरगतको रकम खर्च गर्न कडाइ गरेको छ ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ को’ मस्यौदा तयार पार्दै रकम खर्च गर्न कडाइ गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले उक्त रकम जथाभावी खर्च गरेको गुनासो आउन थाले पछि राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने तयारी गरेको हो ।

बैंकहरुले आफ्नो नाफाको एक प्रतिशत रकम सीएसआरमा राख्ने व्यवस्था छ र सो रकम प्रत्येक प्रदेशमा न्युनतम १० प्रतिशतका दरले खर्च गर्नुपर्ने व्यवस्था अहिले कार्यान्वयनमा छ ।

उक्त मस्यौदाका सम्बन्धमा ३५ दिन भित्र राय सुझाव पेश गर्न सरोकारवाला व्यक्ति र निकायहरुलाई राष्ट्र बैंकले अनुरोध गरेको छ ।

संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च र व्यापार विस्तारको शर्त राखी गरिएका खर्च पनि सामाजिक उत्तरदायित्व भित्र नपर्ने मस्यौदामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्र भित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढङ्गले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदाको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here