‘ओमिक्रोन’ भेरियन्टका कस्ता लक्षणलाई लिएर चिन्तित हुनुपर्छ ?

काठमाडौं । विश्वभर कोभिड-१९ को ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले यो हालसम्मकै सबैभन्दा संक्रमण भेरियन्ट भएको संकेत गरिरहेका छन्।

तर कोरोनाभाइरसको यो प्रकारले विगतका भेरियन्ट भन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको छ र कोभिड-१९ लाई रुघा खोकी वा फ्लुसँग मिल्दोजुल्दो बनाएको छ।

यद्यपि तेज गतिमा ओमिक्रोन फैलिरहेकाले यसले स्वास्थ्य प्रणालीमाथि दबाव कायमै राखेको छ। खोप नलगाएका र उच्च जोखिममा रहेका समूहहरूका लागि यो चिन्ताको विषय रहिरहेको छ।

ओमिक्रोनका लक्षण

किङ्ग्स कलेज लन्डनका जो कभिड स्टडी नामक संस्थाको नेतृत्व गरिरहेका इपिडिमिओलोजिष्ट डाक्टर टिम स्पेक्टरका अनुसार खोप लगाएका मानिसहरूमा देखिएका डेल्टा भेरिअन्टसँग मिल्दोजुल्दो रूपमा ओमिक्रोनलाई ठान्न सकिन्छ।

स्पेक्टर र उनका सहकर्मीहरूले एउटा एपमा आफूलाई देखिएका लक्षण उल्लेख गरेका हजारौँ मानिसहरूबाट तथ्याङ्क सङ्कलन गरिरहेका छन्। उनीहरूले डेल्टा भेरियन्ट र ओमिक्रोन भेरियन्टका लक्षणहरूको विश्लेषण गरेका छन्।

अहिलेसम्म पाँचवटा आम लक्षणहरू यस्ता छन् ।

-नाकबाट पानी बग्ने

-टाउको दुख्ने

-शरीर गल्ने (मध्यम वा गम्भीर)

-हाच्छिउँ आउने

-घाँटी दुख्ने

मध्यम खालको लक्षण देखिनुको कारण मुख्य रूपमा अधिकांश मानिसहरूले खोप लगाएका वा अरू कारणले प्रतिरोधी क्षमता हासिल गर्नाले हो।

अहिले नै ओमिक्रोनले खोप नलगाएका र प्रतिरोधी प्रणाली कमजोर रहेका व्यक्तिहरूमा कस्तो प्रभाव पार्छ भन्नु हतारो हुनेछ।

प्राध्यापक स्पेक्टरका अनुसार अहिले भन्ने गरिएका ओमिक्रोन भेरियन्टका लक्षणहरू रुघा खोकीसँग मिल्दोजुल्दो भएकाले धेरै मानिसहरूलाई आफूलाई कोभिड-१९ नभएको लाग्न सक्छ।

यसको अर्थ ओमिक्रोन द्रुत रूपमा फैलिरहेको क्षेत्रमा हाल सङ्क्रमण उच्च देखिएको लन्डनमा जस्तै रुघा खोकीको लक्षण भएका व्यक्तिमा कोभिड-१९ सङ्क्रमण भइरहेको हुनसक्छ।

तपाईँलाई आफू भाइरसबाट सङ्क्रमित भएको लागेमा सबैभन्दा महत्त्वपूर्ण कुरा तुरुन्तै परीक्षण गराउनु हो। मध्यम वा कुनै पनि लक्षण नभएका व्यक्तिले पनि अरूलाई जोखिममा पार्न सक्छन्।

यसअघि कोभिड-१९ का भेरिअन्टहरूका लक्षण ज्वरो, रुघा खोकी र स्वाद तथा गन्ध हराउने रहेका थिए। तर किंङ्ग्स कलेजका प्राध्यापक स्पेक्टरका अनुसार अधिकांश मानिसहरूले नयाँ सङ्क्रमणमा ती ‘परम्परागत लक्षण’ नरहेको बताइरहेका छन्।

कुन लक्षणलाई लिएर चिन्तित हुनुपर्छ ?

ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले सबैलाई निम्न लक्षणहरूबारे सचेत रहन सुझाव दिएको छ।

-अकस्मातको निरन्तर खोकी

-ज्वरो वा उच्च तापक्रम

-स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुनु

तर कतिपयका लागि कोभिड-१९ ‘नराम्रो रुघाखोकी’ जस्तो बन्न सक्छ जसमा टाउको दुख्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने लक्षण हुन्छन्।

के ज्वरो कोरोना भाइरसको अकाट्य लक्षण हो ?

३७ दशमलव ८ डिग्री भन्दा माथिको जुनसुकै अवस्थालाई उच्च तापक्रम मानिन्छ। ज्वरो मानिसले कोभिड(१९ मात्रै नभएर जुनसुकै सङ्क्रमणसँग जुझिरहँदा पनि देखापर्न सक्छ।

थर्मोमिटरको प्रयोग गर्नु सबैभन्दा उपयुक्त हो। तर यदि तपाईँसँग छैन भने आफ्नो छाती वा शरीरको पछाडिको भाग तातो छ कि छैन भनेर छाम्नुहोस्।

रुघाखोकीका कारण ज्वरो आउने सम्भावना कम हुन्छ।

खोकी लक्षण हो ?

यदि तपाईँलाई फ्लु भएको छ वा चिसो लागेको छ भने तपाईँमा खोकी र अन्य लक्षणहरू देखा पर्न सक्छन्।

अधिकांश अवस्थामा फ्लु एकाएक देखिन्छ। पीडितहरूको मांसपेशी दुख्ने, जाडोले शरीर काँप्ने, टाउको दुख्ने, शरीर गल्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने वा नाक बन्द जस्तो हुने लक्षण खोकीसँगै देखिन्छन्।

रुघा खोकी बिस्तारै बढ्दै जान्छ र कम गम्भीर हुन्छ। यद्यपि त्यसले बिरामी भएको महसुस गराउनसक्छ। खोकीसँगै हाच्छिउँ आउने, घाँटी दुख्ने वा नाकबाट पानी बग्ने भएपनि ज्वरो, जाडोले शरीर काँप्ने, मांसपेशी दुख्ने वा टाउको दुख्ने लक्षण हतपत देखा पर्दैन।

कोभिड-१९ मा खोकी लाग्दा एक घण्टामा धेरै पटक खोकी लाग्छ। चौबिस घण्टाको अवधिमा तीन वा त्यो भन्दा बढी पटक अनियन्त्रित किसिमको खोकी देखापर्छ।

यदि तपाईँलाई नयाँ र निरन्तर खोकी देखियो भने तपाईँले परीक्षण गराउनुपर्ने हुन्छ।

बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here