‘ओमिक्रोन’ भेरियन्ट संक्रमित व्यक्तिबाट कति दिनसम्म अरूलाई सर्छ ?

काठमाडौं । कोरोना भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ।

विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ ।

वैज्ञानिकहरूले यो हालसम्मकै सबैभन्दा संक्रमण भेरियन्ट भएको संकेत गरिरहेका छन्।

तर कोरोनाभाइरसको यो प्रकारले विगतका भेरियन्ट भन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको छ र कोभिड-१९ लाई रुघा खोकी वा फ्लुसँग मिल्दोजुल्दो बनाएको छ।

यद्यपि तेज गतिमा ओमिक्रोन फैलिरहेकाले यसले स्वास्थ्य प्रणालीमाथि दबाव कायमै राखेको छ। खोप नलगाएका र उच्च जोखिममा रहेका समूहहरूका लागि यो चिन्ताको विषय रहिरहेको छ।

ओमिक्रोनका लक्षण

-नाकबाट पानी बग्ने

-टाउको दुख्ने

-शरीर गल्ने (मध्यम वा गम्भीर)

-हाच्छिउँ आउने

-घाँटी दुख्ने

कुन लक्षणलाई लिएर चिन्तित हुनुपर्छ ?

ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले सबैलाई निम्न लक्षणहरूबारे सचेत रहन सुझाव दिएको छ।

-अकस्मातको निरन्तर खोकी

-ज्वरो वा उच्च तापक्रम

-स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुनु

कति दिनसम्म अरूलाई सर्छ ?

तर कतिपयका लागि कोभिड-१९ ‘नराम्रो रुघाखोकी’ जस्तो बन्न सक्छ जसमा टाउको दुख्ने, घाँटी दुख्ने र नाकबाट पानी बग्ने लक्षण हुन्छन्।

ओमिक्रोन भेरियन्टबारे कमै मात्र अध्ययन भए पनि अनुसन्धानले यो अन्यको तुलनामा कमजोर मात्रै देखाएको छैन, भाइरस सरिसकेपछि लक्षण देखा पर्न लाग्ने अवधि पनि कम देखिएको छ।

वैज्ञानिकहरूले संक्रमित व्यक्तिहरूले संक्रमणका सुरुवाती दिनहरूमा बढी संक्रमण फैलाउन सक्ने पत्ता लगाइसकेका छन्।

ओमिक्रोनको हकमा लक्षण देखिनुभन्दा एक वा दुई दिनअघि र लक्षण देखिएको दुईदेखि तीन दिनसम्म यो भाइरस अरूलाई सर्न सक्ने ठानिएको छ।

चिकित्सकका अनुसार यो भाइरस पाँच दिनसम्म मात्रै संक्रमण हुन्छ। यसको अर्थ परीक्षणमा पुष्टी भएको तीनदेखि पाँच दिनसम्म मात्रै यसमा अरूलाई सर्न सक्ने क्षमता रहन्छ।

ओमिक्रोन शरीरमा सात दिनसम्म रहने देखिएको छ। यसको अर्थ लक्षण देखिएको सात दिनपछि लक्षण छैन भने अधिकांश यस्ता व्यक्तिहरूले अरूलाई संक्रमण फैलाउन सक्दैनन्।

लक्षण नभएको व्यक्तिले अरूलाई सार्न सक्छ ?

अध्ययनहरूले कोभिडबाट संक्रमित भएका व्यक्तिहरूमा लक्षण नदेखिए पनि अरूलाई संक्रमण सार्न सक्ने देखाएका छन्।

उनीहरू छुट्टै पनि नबस्ने र अन्य सावधानीहरू पनि नअपनाउने सम्भावनाका कारण उनीहरूले अरूलाई संक्रमण सार्न सक्ने थप जोखिम हुने गर्छ।

अमेरिकामा प्रकाशित अनुसन्धानले हरेक चारमा एउटा संक्रमण लक्षण नभएका मानिसबाट हुने देखाएको छ।

यसअघिका भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्टमा लक्षण नभएकाबाट अझै बढी संक्रमण फैलिन सक्ने ठानिएको छ।

अधिकारीहरूले अरूलाई थाहै नपाई सङ्क्रमण सर्नबाट जोगाउन कोठाभित्र बस्दा मास्कको प्रयोग गर्न सिफारिस गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here