उपत्यकाका ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं, ९ माघ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन बनाउन काठमाडौं उपत्यकाका ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक जरिवाना तिर्न सकिने मेसिन विस्तार गरिएको छ ।

सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरिएको हो ।

आजदेखि महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरिएको छ । यसअघि, यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा सञ्चालन भइसकेको थियो ।

महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमकावीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी ‘प्रभु-पेको किअस्क मेसिन’ उद्‌घाटन गरेका हुन् । सो उद्‍घाटन पश्चात ७ वटै ट्राफिक कार्यालय सेवा शुभारम्भ भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको बताए ।

‘किअस्क’ मेसिनमा सीधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गई लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here