काठमाडौं, ११ माघ । अफ्रिकन कप अफ नेसन्स अन्तर्गत क्यामरूनको राष्ट्रिय रङ्गशालामा भएको भाडदौडमा कम्तीमा ६ जना मारिएका छन् । रंगशाला भित्र प्रि–क्वाटर फाइनलअन्तर्गत घरेलु टीम क्यामरून र कोमोरसबीच खेल भइरहेको थियो ।
खेल हेर्न रङ्गशाला बाहिर भेला भएको भिड अनियन्त्रित हुँदा भागडौड मच्चिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । त्यसक्रममा ६ जनाको ज्यान गएको पुष्टी भएको हो । घटनामा थुप्र्रै मानिस घाइते भएका छन् । खेल हेर्न मैदान प्रवेश गने क्रममा गेटमै यस्तो घटना भएको छ ।
क्यामरूनको मध्य क्षेत्रीय गभर्नर पउल वियाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । रङ्गशालाको क्षमता ६० हजार हो । कोरोना सङ्क्रमणका कारण ८० प्रतिशत क्षमतामा मात्र समर्थकलाई मैदान प्रवेशको अनुमति थियो ।
बाहिर घटना भएपनि मैदानमा खेल रोकिएन । गएराति सम्पन्न खेलमा क्यामरुनले कोमोरोसलाई २–१ गोलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।