नेपालको जनसंख्या कुन प्रदेशमा कति ? सबैभन्दा धेरै मधेशमा

काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ ।

विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।

नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

जनसंख्यामध्ये सबैभन्दा धेरै मधेसमा बसोबास रहेको देखिएको हो। नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ ।

मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ ।

वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो ।

त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो ।

तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २ सय २५ अर्थात १७.५५ प्रतिशत छ।

यस्तै चौथो स्थानमा रहेको प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जना अर्थात कुल जनसंख्याको १७.०३ प्रतिशत जनसंख्या रहेको छ।

पाँचौ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २ सय ७० अर्थात ९.२९ प्रतिशत जनसंख्या रहेको छ।

र छैठौं स्थानमा रहेको गण्डकी प्रदेशमा २४ लाख ७९ हजार ७४५ अर्थात ८.४९ प्रतिशत रहेको छ। यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो । यसैगरी कर्णालीको जनसंख्या वृद्धिदर ०.७६ रहेको तथ्यांक विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

आगामी ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना रहे पनि कोरोनाका कारण थप समय लाग्ने अनुमान गरिएको विभागले जनाएको छ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ गते सम्म गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो।

कुन प्रदेशमा कति ?