खल्तीका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्ने

काठमाडौं, १७ माघ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट (स्प्यारो प्रा.लि.)बीच सहकार्य भएको छ ।

सोमवार एक कार्यक्रममा फोनपेका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरे ।

सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आवद्ध भएको छ । अबदेखि खल्तीका प्रयोगकर्ताले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् ।

यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने विश्वास लिइएको फोनपेले जनाएको छ ।

सम्झौतापश्चात फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत सापकोटाले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा आफूहरूको सहकार्यले थप भूमिका खेल्ने बताए ।

उनले भने,‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तिव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी छौँ । हामी दुवै कम्पनीको लडाईं भनेको नगद कारोबारसँग हो ।’

कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत खड्काले खल्ती र फोनपेबीचको सहकार्यले २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुने बताए ।

उनले भने,‘हामी दुवैको ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने, जसका लागि हामी सँगै अघि बढ्दै छौँ ।’

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि फोनपे स्थापना भएको थियो । हालसम्म फोनपेमा ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेको कम्पनीले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोवाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

यस्तै, सन् २०१७ मा स्थापना भएको खल्ती २० लाखभन्दा बढी प्रयोगकर्ताले चलाउँदै आएका छन् ।

खल्तीबाट मोबाइल टिभीको रिचार्ज भुक्तानी, फ्लाइट तथा मुभिको टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङको समेत भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here