६ महिनामा खुले ११ लाख बढी ‘डिम्याट खाता’, ७ अर्ब ९८ करोड शेयर अभौतिकिकरण

काठमाडौं, १९ माघ । शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ४८ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार आइतबारसम्ममा डिम्याट खाताको संख्या ४८ लाख ३० हजार ५ सय ७५ पुगेको छ।

शेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । जसको कारण आइपीओमा आवेदन दिनेको संख्यामा नयाँ रेकर्ड बन्दै गएको छ ।

चालू आवको साउनदेखि माघ १६ गतेसम्म ११ लाख २ हजार ९ सय ८ जनाले डिम्याट खाता खोलिएका छन् ।

यस अवधिमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा खुलेका छन् । बागमती प्रदेशमा ३ लाख ८० हजार ७७ डिम्याट खाता खुलेका छन् ।

कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ३१ हजार ८१८ मात्र डिम्याट खाता खुलेका छन्। गत आव २०७७/७८ को असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ९१ हजार ४५७ रहेको थियो।

यो संख्या माघ १७ गतेसम्म बढेर ४८ लाख ३० हजार ४७५ पुगेको छ। गत आवमा मात्र २० लाख ६६ हजार ६९९ डिम्याट खाता खुलेका थिए।

हालसम्म ७ अर्ब ९८ करोड ५८ लाख ६५ हजार ५३३ कित्ता शेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here