ओमिक्रोनको त्रासकाबीच पर्यटक आगमन उत्साहजनक, एक महिनामा १७ हजार भित्रिए

काठमाडौं, २१ माघ । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार पूर्ण खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेसँगै नेपालमा विदेशी पर्यटकको संख्या बढेको हो ।

कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासकाबीच पनि जनवरीमा मात्रै विभिन्न देशबाट झण्डै १७ हजार पर्यटक नेपाल आएका छन् ।

तथ्यांक अनुसारसन् २०२२ को पहिलो महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरले वृद्धि भएको छ ।

विभागका अनुसार हवाई मार्ग हुँदै १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सोही अवधिमा ८ हजार ८ सय ७४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणमा आएका थिए ।

गत जनवरी महिनामा भारतसहित बंगलादेश, पाकिस्तान, भूटान, श्रीलंका लगायतका मुलुकबाट ५ हजार ५ सय एक जना पर्यटक नेपाल भित्रिएका छन् ।

यस्तै चीन, जापान लगायतका अन्य एसियाली मुलुकबाट एक हजार एक सय १४ जना, यूरोपेली मुलुकबाट ३ हजार ५ सय २७, ओसियाना क्षेत्रबाट १ हजार २ सय ४० तथा अमेरिका, क्यानडा लगायतबाट ३ हजार ६ सय १८ पर्यटक नेपाल भित्रिएका छन् ।

अन्य विभिन्न मुलुकबाट १ हजार ९ सय ७५ जना नेपाल भ्रमणमा आएको विभागले जनाएको छ । कोरोना संक्रमणका बीचमा सरकारले स्वास्थ्य मापदण्ड पालना गरी पर्यटकलाई नेपाल आउने अनुमति दिइरहेको छ ।

बोर्डका अनुसार २०२१ भरी कुल १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here