काठमाडौं, २४ माघ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम चयन भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको हो ।
छनौट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको स्रोतले बताएको छ ।
उक्त पदका लागि उल्लेखित ५ जना सहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ र अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो । पहिलो सिफारिस समितिको गठन प्रक्रियामै प्रश्न उठेपछि सरकारले दोस्रो पटक समिति गठन गरेको थियो ।
गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको थियो ।
छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल छन् । सदस्यमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुसाल छन् ।
बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।
धितोपत्र ऐन २०६३ मा धितोपत्र अध्यक्षका लागि उच्च नैतिक चरित्र भएको नेपाली नागरिक हुनुपर्ने, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने प्रावधान छ ।