जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता ४ करोड नाघ्यो, नेपाल टेलिकमको हिस्सा ५४.२६ प्रतिशत

काठमाडौं २५ माघ । नेपालमा मोबाइल सेवा प्रयोग गर्नेको संख्या चार करोड नाघेको छ । प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार ४ करोड ८ लाख ५५ हजार २ सय ८९ जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता रहेको छ ।

नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकमको सिम प्रयोगकर्ता २ करोड नाघेको छ ।

१८ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार मात्रै लिएर अघि बढेको टेलिकमको सिम चलाउनेको संख्या मंसिर मसन्तसम्ममा २ करोड १६ लाख ४५ हजार १ सय ८९ पुगेको हो ।

नेपाल टेलिकमले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इण्टरनेट डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।

सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमले मोबाइल सेवामा ५४.२६ प्रतिशत स्थान ओगट्दा एनसेलले ४०.१० प्रतिशत ओगटेको छ । त्यस्तै स्मार्ट टेलिकमले ५.६४ प्रतिशत बजार ओगटेको छ ।

टेलिकमको सिडिएमए प्रविधिमा समेत ३ लाख २१ हजार २ सय ७३ प्रयोगकर्ता रहेका छन् ।

हाल टेलिकमले सिडिएमए सेवा बन्द गर्नको लागि यसका प्रयोगकर्तालाई जीएसएमतर्फ माइग्रेसन गरिरहेको छ । जीएसएम तथा सिडिएमए सेवाका प्रयोगकर्ताको संख्या ४ करोड ११ लाख ७६ हजार ५ सय ६२ पुगेका छन् ।

त्यस्तै नीजि क्षेत्रको ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको १ करोड ६८ लाख ४१ हजार ७ सय ६४ जीएसएम प्रयोगकर्ता रहेका छन् । खारेजीको मुखमा पुगेको स्मार्ट टेलिकमको २३ लाख ६८ हजार ३ सय ३६ प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ ।

सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुवात पनि भएको छ । मोबाइल इण्टरनेटको सेवा प्रदान गर्नेमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here