अम्बानीलाई पछि पार्दै अडानी बने एसियाकै धनी व्यक्ति

काठमाडौं, २६ माघ । भारतीय उद्योगपति तथा अदानी समूहका अध्यक्ष गौतम अडानीले मुकेश अम्बानीलाई पछि पारेका छन् ।

यसअघि भारतका सबैभन्दा धनी रहेका अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा गिरावट आएसँगै अडानीले उछिनेका हुन् ।

योसँगै अडानी एसियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । आफ्नै देशका मुकेश अम्बानीलाई पछि पार्दै अडानी एसियाकै धनी व्यक्ति बनेका हुन् ।

ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल सम्पत्ति ८८.५ अर्ब डलर र अम्बानीको कूल सम्पत्ति ८७.९ अर्ब डलर छ ।

जसले अडानीलाई ब्लुमबर्गको सूचीमा १०औं स्थानमा स्थापित गरेको छ । रिलायन्सका मालिक मुकेश अम्बानी भने ११औं स्थानमा रहेका छन् ।

विश्वका अन्य धनाढ्यहरुको जस्तै अडानीको सम्पति पनि कोरोना महामारीकै समयमा उच्च वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा अडानीको सम्पति ४० अर्ब डलर रहेको थियो । एक वर्षकै अवधिमा उनको सम्पति दोब्बर बढेको देखिन्छ ।

भारतीय उद्योगपति अडानीको लगानी विशेषगरी पूर्वाधार, थर्मल उर्जा र कोइला खानीमा रहेको छ । गुजरात राज्यमा रहेको भारतकै ठूलो मुन्द्रा बन्दरगाह अडानी समूहको स्वामित्वमा रहेको छ ।

यस समूहले विश्वकै सबैभन्दा ठूलो नविकरणीय उर्जा उत्पादक बन्ने लक्ष्यसहित सन् २०३० सम्ममा हरित उर्जाको क्षेत्रमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।

दुवै भारतीय धनाढ्यले सम्पत्तिमा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछिपारेका छन् । फेसबुकको सेयर मूलयमा ठूलो गिरावट आएपछि जुकरवर्ग यी दुई भारतीय धनाढ्यभन्दा पछि परेका हुन् ।

ठूलो घाटा भएपछि विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो उथलपुथल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here