जनताले वडाध्यक्षलाई कार्यकक्ष मै थुने

राजकुमार पराजुली
२१ असार, काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्ष मै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाता भित्रका व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखेको आरोप लगाउँदै श्रेष्ठलाई स्थानीयले शुक्रबार कार्यकक्ष मै थुनेका हुन् ।

स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा वडाध्यक्ष श्रेष्ठले जवाफ दिन नसकेपछि विरोधस्वरुप कार्यकक्षमै थुनिएको स्थानीय भवनाथ तिमल्सिनाले जानकारी दिए ।

“वडाध्यक्षले छलफलविना गलत प्रक्रियाबाट आफ्ना नजिककालाई उपभोक्ता समितिका अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिमा सदस्य बनाएका रहेछन्, हामीले यसबारे प्रश्न गर्दा उनले जवाफ दिन सकेनन् अनि केही समय कार्यकक्षमै थुनिदिएका हौँ,’ उनले भने ।

सडक उपभोक्ता समिति निर्माणबारे स्थानीयले दुई दिनअघि मात्रै थाहा पाएको तिमल्सिनाले बताए । वडाध्यक्षसँग आक्रोसित भीडले वडा कार्यालयको मूल ढोकामा तालाबन्दी गरेर हिडेपछि स्थानीय प्रहरीले दुई घण्टापछि मात्रै ताला खोलेका थिए ।

गेल्दुङ–गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाएका थिए ।

उक्त सडकखण्डको ४०० मिटर सडकमा ३ नम्बर प्रदेश सरकारको बजेटमा ग्राभेल, वालसहित नाली निर्माण भइरहेको छ ।

गेल्दुङ–गोल्माकोट सडकखण्डका लागि कूल ५५ लाख बजेटमध्ये ४०० मिटरमा ३५ लाखबाट ग्राभेल, डे«न वालसहित नाली निर्माण तथा ‘बीलो रकम’ करीब १९ लाखमा करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्न आफ्ना राजनीतिक सहयात्रीलाई र उनका आफन्तलाई अनुगमन समिति र उपभोक्ता नभएकालाई समितिमा राखिएको आरोपमा वडाध्यक्षलाई कार्यकक्षमै थुनेका हुन् ।

उक्त सडकबाट गाउँपालिकाका पाँच वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् । वडाध्यक्ष श्रेष्ठले आफ्नो कमीकमजोरी भए छलफल गर्न आग्रह गर्दा कुनै कुरा नसुनी आफूलगायत केही कर्मचारी कार्यालय भित्रै भएको अवस्थामा तालाबन्दी गरिएको जानकारी दिए ।

“कामको सिलसिलामा कमी कमजोरी भएको हुनसक्छ, बसेर छलफल गरौभन्दा आक्रोशित भीडले तालाबन्दी गरेर हिड्यो”, उनले भने । उपभोक्ता समितिको विवादपछि चार दशमलब पाँच किलोमिटर सडकमा शुक्रबारदेखि ग्राभेलिङको काम रोकिएको छ ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here