नेपाल टेलिकमको नाफा १८ प्रतिशतले बढ्यो

काठमाडौं, २९ माघ । नेपाल टेलिकमको आर्थिक वर्ष २०७८/७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले शनिबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको कुल सञ्चालन आय ८.३६ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले खुद मुनाफा रकममा १८.४९ प्रतिशतले बृद्धि गरेको छ ।

गत बर्षको दोस्रो त्रैमासमा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिमा सो रकम बढाएर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुर्याएको हो । समीक्षा अवधिमा कम्पनीले खुद नाफा रकम ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले बढाएको हो ।

गत आर्थिक बर्षको पुस मसान्तसमम १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक बर्षको सोही अवधिमा १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँले बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै, कम्पनीको कुल आय ६.८७ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक बर्षको पुस मसान्तमा २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रुपैयाँ कुल आय रहेकोमा समीक्षा अवधिमा यस्तो रकम १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँले बढेर २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगेको हो ।

पुस मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय ३.७७ प्रतिशतले बढेको छ । गत बर्ष सोही अवधिमा कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ रहेकोमा समीक्षा अवधिमा सो रकम ३४ करोड २३ लाख ४९ हजार रुपैयाँले वृद्धि भई ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा टेलिकमको EBITDA ९.०१ प्रतिशत अर्थात ७७ करोड ५८ लाख ७३ हजार रुपैयाँले बृद्धि गरी ९ अर्ब ३८ करोड ६१ लाख ९० हजार रुपैयाँ बढाएको छ । गत बर्ष पुस मसान्तसम्ममा कम्पनीको यो रकम ८ अर्ब ६१ करोड ३ लाख १७ हजार रहेको थियो ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुँदा नाफा बढेको कम्पनीले जनाएको छ ।

यसैगरी टु जी/थ्री जी सेवाको पहुँच नपुगेका स्थानहरूमा समेत टु जी/थ्री जी/फोरजी सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि भएको टेलिकमले जनाएको छ ।

कम्पनीको FTTH सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई FTTH मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहकहरू वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेका ।

मुलुक तथा विश्वव्यापी रूपमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पश्चात कोभिड–१९को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रूपमा व्यापार व्यवसायमा आएको संकट चालु आ. व.को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरू तथा सेवा वितरणमा सहजता आएको कारण कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको हो ।

कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रूपमा राजश्व वृद्धि हुने अवस्था नरहेता पनि कम्पनीका सेवाहरूको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरूप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि कम्पनीले जनाएको छ ।

कोरोना महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा ओटिटिको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायम नै रहेको थियो ।

यद्यपि, अनलाइन व्यवसाय, अनलाइन कक्षा, सामाजिक सञ्जाल, अनलाइनमा आधारित मनोरञ्जन आदिमा बृद्धि भएको कारण भ्वाइस, डाटा, एसएमएस सेवा र भिएएस सेवामा गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा समीक्षा अवधिमा सुधार हुँदा नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here