१०१ अंकले घट्यो नेप्से, धेरै गुमाउने जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं, १ फागुन । शेयर बजार उच्च अंकले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको हो ।

साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको १ करोड, १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहका परिसूचक राताम्मे भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत शेयर कर्जामा अझै कडाइ गर्ने हल्लाका कारण पनि बजारमा पहिरो गएको लगानीकर्ताको आकलन छ ।

आज सर्वाधिक हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । यी समूहको शेयरमा ५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।

उच्च अंकले घटेको बजारमा बैंकिङ ४२ , होटल तथा पर्यटन १०९, अन्य उपसमूह ७३ अंकले घटेको छ ।

निर्जीवन बीमा ५५२, उत्पादन समूह ३३५, जलविद्युत १८४ अंकले घटेको छ । विकास बैंक २०६, फाइनान्स ११२, लगानी समूह ४ र माइक्रोफाइनान्स १८६ अंकले घटेको छ ।

तेहेरो अंकले घटेको बजारमा आज माथिल्लो तामाकोशीको शेयर मूल्य सबैभन्दा धेरै ८.३७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, नारायणी विकास बैंक ८.२६, शिव श्री हाइड्रोपावर, वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य साढे ७ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र पञ्चकन्यामाइ हाइड्रोपावरको ७ प्रतिशतले घटेको छ ।

त्यस्तै, शिवम् सिमेन्ट, सामलिङ पावर, सीईडीबी हाइड्रो, एनएआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, तेह्रथुम पावर, सिनर्जी पावर, निफ्रा, पोखरा फाइनान्स लगायत कम्प्नीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी माथिल्लो तामाकोशीको भएको छ । यस कम्पनीको ३२ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण भ्याली कम्पनीको २८ करोड ३९ लाखको कारोबार भएको छ । निफ्राको २५ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here