गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्दा नियमित उडान प्रभावित हुने

काठमाडौं, ३ फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० दिन परीक्षण उडान (क्यालिब्रेसन उडान) हुने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गते सम्म परीक्षण उडान हुन लागेको हो ।

नागरिक उड्डयन प्रधिकरणले मंगलवार एक सूचना जारी गर्दै परीक्षण उडानको समयमा नियमित उडान प्रभावित हुने जनाएको छ ।

क्यालिब्रेसन फ्लाइट विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने विधि हो।

यो उडानले विमानस्थलमा जडान भएका उपकरणहरु उपयुक्त छ/छैन भन्ने परीक्षण गर्नेछ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) ले पाएको छ ।

उक्त कम्पनीले क्यालिब्रेसन फ्लाइटको जिम्मा समेत लिएको हो । एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।

यसका लागि पाँच/सात सिट भएको विमानले विमानस्थललाई केन्द्रित गरी उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेसन लगायतका सूचना ठीक छ छैन भनी परीक्षण गरिन्छ।

क्यालिब्रेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अरू जहाजको उडान र अवतरण सुरू गरिन्छ।

बुद्ध जन्मस्थल लुम्बिनीसँगै जोडिएर निर्माण भइरहेको गौतमबुद्ध विमानस्थललाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको थियो ।

२०७४ साल पुस मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरू गरिएको रूपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ५ वर्ष ढिलो गरी सम्पन्न भएको हो।

२०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here