भिडियो आर्थिक लेनदेनसँग सम्बन्धित रहेको मन्त्री आलेको सचिवालयको स्पष्टीकरण

काठमाडौं, ३ फागुन । मंगलबार सार्वजनिक भएको पर्यटन मन्त्री प्रेम आलेले अश्लिल शब्दमा गालीगलौज गरेको भिडियो आर्थिक बार्गेनिङसँग जोडिएको पाइएको छ ।

मन्त्री आलेको सचिवालयले यस्तो जानकारी गराएको हो । यसबारे कानूनी परामर्श थालेको समेत सचिवालयले उल्लेख गरेको छ ।

सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरेको आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भएर हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्र गरेको आरोप सचिवालयको छ ।

नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here