बुधवार नेपाल बन्द, सरकारको निर्देशन-‘कानून विपरीतका गतिविधि हुन नदिनू’

फाइलफोटो

काठमाडौं, ३ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलीय गठबन्धनले बुधवार नेपाल बन्दको आव्हान गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग सहित गठबन्धनले नेपाल बन्दको घोषणा गरेको हो ।

विप्लवको नेकपा,सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा,आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,मोहन बैद्य किरणको क्रान्तिकारी माओवादी,ऋषि कट्टेलको नेकपा र माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको आव्हान गरेका हुन् ।

बुधवार एमसीसी सम्झौता टेबल गर्ने तयारीका साथ प्रतिनिधिसभाको बैठक बोलाएको भनिएका बेला संसद बाहिर रहेको ६ दलीय गठबन्धन कडा आन्दोलनमा उत्रिएको हो ।

नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here