भारतीय युपीआईको सेवा अब नेपालमा, युपीआई नेपाल सञ्चालन सम्झौता

काठमाडौं ५, फागुन । भारतीय युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) द्वारा जारी विद्युतीय कार्डहरु नेपालमा चल्ने भएको छ । युपीआईद्वारा कार्ड सञ्चालनका लागि केही साता अघि राष्ट्र बैंकले अनुमति दिएको छ ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपीआई नेपाल) सञ्चालनका राष्ट्र बैंकमा अनुमति मागेको थियो ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतामा राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र भारतीय रिजर्व बैंकद्वारा प्रर्वधित एनपीसिआई इन्टरननेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै अब विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायकबाट तुरुन्तै रकमान्तर गर्न सकिने बताइएको छ ।

पेटिएम, गुगलपे, फोनपे आदिमार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्न सकिने गेटवे पेमेन्ट सर्भिस प्रालिले जनाएको छ ।

सम्झौतासँगै भारतीय नागरिक नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने र नेपालीले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले बताए ।

आगामी तीन महिनाभित्र सेवा सुचारु हुने र एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवा पनि क्रमिक रूपमा सुरुआत गर्दै जाने उनले जानकारी दिए ।

त्यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकामा उक्त प्रविधिमा आधारितले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठूलो टेवा पुर्‍याउने कम्पनीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here