विद्युत् प्राधिकरणले ६ महिनामै कमायो १२ अर्ब नाफा, वार्षिक १५ अर्ब नाघ्ने प्रक्षेपण

काठमाडौं, ८ फागुन । नेपाल विद्युत् प्राधिकरण चालू आर्थिक वर्षको पहिलो ६ महिनामै १२ अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणको अपरिष्कृत वित्तीय विवरण अनुसार चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाणमा भएको वृद्धि, आयातमा कमी, बिक्रीमा वृद्धिका कारण नाफा आर्जन गर्न सफल भएको हो ।

प्राधिकरणको वित्तीय विवरण अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो।

चालू आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। योसँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण, भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत आयातमा कमी, विद्युत बिक्रीमा बृद्धि, अन्य आयमा बृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए।

कार्यकारी निर्देशक घिसिङले भने, ‘सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम, ४५६ मेगावाटको अपर तामाकोसीसँगको विद्युत खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको कारण हो।’

‘पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौँ’, घिसिङले उल्लेख गरे।

प्राधिकरणले चालु आवको ६ महिनामा ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिदमा हुने गरेको छ। प्राधिकरणको विदेशी दातृ निकायहरुको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ।

प्राधिकरणको पँुजीकृत सम्पत्ति १ खर्व ६५ अर्ब, पुँजीकृत हुन बाँकी सम्पत्ति १ खर्व ५२ अर्व, सहायक कम्पनीहरुमा लगानी ३५ अर्व ३४ करोड र ऋण लगानी ३२ अर्व ५० करोड रहेको छ। तरल पुँजी ८५ अर्ब १ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here