८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले फागुन १० गते जारी गर्न लागेको ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो।

राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ जेठ १० गते परिपक्व हुनेछ।

यसैगरी राष्ट्र बैंकले १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ भदौ ७ गते परिपक्व हुनेछन्।

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

यी ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।