असारमा खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता

काठमाडौं, २३ असार । खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् ।

असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ ठूलो पालुवाका करीब ३०० घरपरिवार कृषकलाई आगामी वर्षमा मकैको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको छ । बारीमा लगाएको मकै खडेरीको कारण सखाप भएपछि उनीहरुलाई चिन्ता थपिएको हो ।

स्थानीयवासी जीवन आचार्यले भन्छन्, ‘सबै अन्नबाली खडेरीले परालजस्तो भएको छ, हामीलाई आगामी वर्षको बीउको चिन्ता बढेको छ ।’ अब पानी परेपनि मकै पुरानो स्थितिमा नआउने उनको भनाइ छ । ‘सबै मकै सुकेको छ, किराको प्रकोप पनि उस्तै छ, अब पानी आए पनि काम छैन ।’

यहाँका किसानले सुकेको मकैको बिरुवा गाईवस्तुलाई खुवाउन थालेका छन् । तर गाईवस्तुले पनि खान छाडेको अर्का कृषक गणेश परियारले बताए ।

परियारले भने, ‘बारीको सबै मकै वस्तुलाई खुवाउन थालेका छौँ, तर वस्तुले पनि खान छाडे अब त ।’ मकै खुवाउँदा कतिपयको वस्तु नै मरेको उनको भनाइ छ ।

समयमा वर्षा नभएपछि गाउँमा पिउने पानीको अभाव भएको छ भने खेत बाँझै छ । वर्षभरि खाने कमाइ सखाप भएपछि उनीहरु कसरी बाँच्ने भन्ने चिन्तामा परेका हुन् ।

अन्नबाली जति खडेरीले सखाप बनाएपछि भोकमरीको चिन्ता हुन थालेको हो । सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयवासी कुलबहादुर कार्कीले भने, ‘हामीलाई खडेरीको कारण समस्या थपिएको छ, योसँगै जिल्लाको अन्य ठाउँमा पनि खडेरीका कारण यस्तै अवस्था छ, त्यस्ता ठाउँको पहिचान गरी सरकारले राहतको व्यवस्था गर्न आवश्यक छ ।’ दलगाउँ, कोट, गोगने, वास्तीम, हसनपुरलगायत ठाउँमा खडेरीको कारण अन्नबालीमा क्षति पुगेको छ ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here