युक्रेनमा रहेका नेपालीलाई परराष्ट्रले भन्यो-‘युद्ध हुन सक्छ, तत्काल स्वदेश फर्कनुस्’

काठमाडौं, ११ फागुन । रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।

मन्त्रालयले बुधवार एक विज्ञप्ति निकाल्दै युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको हो ।

अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ।

युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासमा सम्पर्क गर्न भनिएको छ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘युक्रेनमा रहनु भएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गर्नु भई अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ । साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्नसमेत अनुरोध गरिन्छ ।’

मन्त्रालयले आवश्यक परेमा बर्लिनस्थित राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईं र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here