संसदबाट एमसीसी सम्झौता बहुमतले अनुमोदन

काठमाडौं, १५ फागुन । अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेबाहेक सत्तागठबन्धनका अधिका‌ंश सांसदले उक्त एमसीसी सम्झौताको पक्षमा समर्थन जनाएपछि बहुमतले अनुमोदन भएको हो ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकाेटाले समर्थन जनाउने सांसदकाे बहुमत रहेकाेले एमसीसी सम्झाैता बहुमतले पारित भएकाे घाेषणा गरे । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले एमसीसीको पक्षमा ध्वनि मत प्रकट गरे।

राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने घेराउमै थियो।