काठमाडौं, १६ फागुन । रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।
वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान माघ महिनामा मात्रै ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५ हजार ५३० जना पुरुष र ३ हजार ९४० जना महिला रहेका छन् ।
श्रम स्वीकृति लिनेमा २० हजार ३६४ जना दक्ष श्रमिक रहेका छन् । जसमा १८ हजार ७४२ जना पुरुष र १६ सय २२ जना महिला रहेका छन् ।
तथ्यांक अनुसार १२ जना उच्च दक्ष र ७५ जना व्यवसायीकले श्रम स्वीकृति लिएका छन् ।
२६ हजार ३३७ पुरुष र १९ सय ८४ जना महिला गरी जम्मा २८ हजार ३२१ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिने अर्धदक्ष श्रमिकको संख्या ५ हजार ३ सय ६६ जना पुरुष र ३ सय ३२ जना महिला गरी ५ हजार ६ सय ९८ जना रहेको छ ।
विदेशमा सीपयुक्त जनशक्तिको माग निरन्तररूपमा बढे पनि नेपालबाट जाने कामदारमा सो अनुसार सीप र दक्षता बढ्न नसक्दा आम्दानी पनि बढ्न नसकेको विज्ञहरूको भनाइ रहँदै आएको छ ।

नेपाली श्रमिकहरू रोजगारीको खोजीमा विदेशिइरहँदा विदेशी श्रमिक भने रोजगारीका लागि नेपाल आउने गरेका छन् ।
नेपालमा दक्ष श्रमिकको अभाव हुँदा कतिपय रोजगारीका क्षेत्र विदेशी श्रमिकहरूमाथि भर पर्नुपर्ने अवस्था छ।
नेपालमा जलविद्युत्, सडक, पुल, सरकारी तथा निजी भवन निर्माण, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विभिन्न अन्य ठूला परियोजनामा विदेशी श्रमिकहरू आउने गरेका छन्।

























