मर्जरमा जाने बीमा कम्पनीलाई ८ किसिमका सुविधा थप

काठमाडौं, १६ फागुन । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरूलाई सुविधा थप गरेको छ ।

बीमा समितिले बीमा कम्पनीलाई मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गर्ने उद्देश्यले ‘गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७६’ संशोधन गर्दै सुविधाहरू थपेको हो ।

यसअघि पनि मर्जर तथा एक्विजिसनमा जाने बीमा कम्पनीहरूले १० प्रकारका सुविधा पाउने व्यवस्था थियो । उक्त व्यवस्थामा ८ वटा बुँदा थपेर १८ वटा पुर्‍याइएको छ ।

यस्ता बीमा कम्पनीहरूले संस्थापक सेयर बिक्रीका लागि कुलिङ पिरियड नलाग्ने, क्रस होल्डिङ सेयर मिलानका लागि २ वर्ष समय अवधि, थप सञ्चालक समिति राख्न पाइनेलगायत सुविधा पाउने भएका हुन् ।

बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको सेयर संरचनामा कुनै व्यक्ति, समूह वा संस्थाको नाममा चुक्ता पुँजी पन्ध्र प्रतिशतभन्दा बढी सेयर स्वामित्व कायम हुन गएमा वा प्रतिहिस्सेदारी (क्रस होल्डिङ) हुने भएमा त्यस्तो सेयर स्वामित्वलाई सीमाभित्र ल्याउन थप दुई वर्षको अवधि प्रदान गर्ने सुविधा समितिले संशोधन गरेको छ ।

यसैगरी, सञ्चालकको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भए तापनि गाभिएको वा प्राप्तिपछि पुनः निर्वाचन नभएसम्मको अवधिका लागि पुरानै सञ्चालक समिति पदमा बहाल रहन पाउने सुविधा पनि थपिएकाे छ ।

‘गाभ्ने, गाभिने कार्य समाप्त भएका एकीकृत बिमकका अभिकर्तालाई साविकमा प्रवाह भएको ऋण असुली र अभिकर्ता व्यवस्थापनमा ६ महिना समय प्रदान गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ, ‘गाभ्ने, गाभिने कार्य सम्पन्न भएपछि कार्यालय स्थापना र यान्त्रिकीकरण गर्दा भएको खर्चलाई एक वर्षसम्म समावेश नगरिने गरी छुट दिन सकिनेछ ।’

गाभ्ने, गाभिने प्रक्रियामा कुनै बीमकको संस्थापक सेयर प्रतिशत अन्य गाभ्ने, गाभिने बीमकभन्दा बढी भई समान प्रतिशत कायम गर्नुपर्ने अवश्थामा बिक्रि गर्न पाउने बन्देज अवधि (लकिङ) पिरियड ५ वर्ष नपुगेता पनि उपयुक्तता जाँच(फिट एण्ड प्रोपर टेष्ट) गरी बिक्री गर्न स्वीकृत दिन सक्ने छ ।

गाभिदा वा प्राप्ति कारणबाट बीमकको शाखा कार्यालय थपघट तथा मिलान गर्न पर्ने भएमा बढीमा एक वर्षको समय प्रदान गर्न सक्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here