शेयर बजारमा देखिएन एमसीसी प्रभाव, उच्च अंकले घट्यो नेप्से

काठमाडौं, १६ फागुन । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै त्यसको प्रभाव बजारमा देखिने आँकलन भइरहे पनि बजार उच्च अंकले घटेको छ ।

साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२७ कम्पनीको ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६७ रुपैयाँ बराबरको ७८ लाख ३४ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । त्यसदिन ३ अर्ब २७ करोड २७ लाख ७३ हजार ३४७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार नेप्से ७.७३ अंकले घटेर दुई हजार ६ सय ५३ दशमलब ७० विन्दुमा रोकिएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने हाइड्रोका लगानीकर्ता रहेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.०९ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, फाइनान्स, निर्जीवन बीमा समूहको परिसूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १६ भन्दा बढीको कारोबार भएको छ ।

दोस्रोमा अरुण भ्याली कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड बढीको कारोबार भएको छ ।

कारोबार भएका धेरैजसो कम्पनीहरु घटेका छन् । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ ।

यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड इदी मर्दी, लिबर्टी इनर्जी र रुरु जलविद्युत्को शेयर मूल्य ५ प्रतिशतले घटेको छ भने एक्सल डेभलपमेन्ट बैंक, रसुवागढी, नेशनल हाइड्रो, राष्ट्रिय बीमासहित १ दर्जन कम्पनीको मूल्य ४ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here