सुन आयातमा कडाइ, दैनिक कोटा ५० प्रतिशत कटौती

काठमाडौं, २२ फागुन । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ ।

विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो।

जस अनुसार अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। यस अघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने ब्यबस्था थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । रुस र युक्रेनबीच युद्द सुरु भएपछि सुनको मूल्य निरन्तर बढ्दो छ । आइतवार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।

शुक्रबारको तुलनामा तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको जानाकारहरु बताउँछन् । गत शुक्रबार प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार प्रतितोला ३५ रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको हो ।

आज चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी हो । रुसको विवादको असरले सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।