होटेल हब काठमाडौं, चौकोस भित्रै १० पाँचतारे

अलफ्ट होटेल काठमाडौं

२४ असार, काठमाडौं । ठमेलमा खुलेको छायाँदेवी कम्प्लेक्स मिनी ठमेलका रुपमा परिचित छ । यसै भवनको ७ औं तलादेखि १४ औं तलसम्म खुलेको काठमाडौं अलफ्ट ठमेलले पाँचतारे मान्यता पाएको छ ।

उक्त होटेलले गत १६ असारमा पर्यटन विभागबाट पाँचतारे मान्यता पाएको हो । त्यसअघि २ असारमा काठमाडौंको नक्सालमा खुलेको मेरियट काठमाडौं होटेलले पाँचतारे मान्यता पाएको थियो । पछिल्लो समय आतिथ्य उद्योगमा लगानी उल्लेख्य बढेको छ ।

१० वैशाख २०७२ को भूकम्पपछि नेपालमा धेरै क्षेत्र धरासायी हुने अनुमान गरिएको थियो । व्यवसायी हतोत्सायी हुने अनुमान पनि थियो । आम मानिसमा रहेको विश्वास र क्रमशः राजनीतिक स्थायित्वतर्फ देश अगाडी बढ्दै जाँदा लगानीकर्तामा भरोस जाग्यो ।

फलस्वरुप अहिले देशभर धमाधम ठूला होटेल स्थापनाको लहर चलेको छ । पछिल्लो एक वर्षमा ५ वटा नयाँ पाँचतारे होटेल खुले र संचालनमा आए । त्यसमध्ये तीन होटेल मोसफल र दुई होटेल काठमाडौंमा खुलेको हुन् ।

काठमाडौंमा करीव दशकपछि नयाँ पाँचतारे होटेल खुलेको हो । २०२२ सालमा होटेल अन्नपूर्ण र सोल्टी होटेल खुलेसँगै पाँचतारे यात्रा शुरु भएको हो । यस अवधिमा काठमाडौंको चौकोस भित्रै १० पाँचतारे होटले स्थापना भइसकेका छन् ।

काठमाडौं भित्रका पाँचतारे
# होटेल अन्नपूर्ण
# होटेल सोल्टी
# सांग्रीला होटेल
# होटेल मल्ल
# होटेल र्याडिसन
# होटेल याक एण्ड यति
# होटेल हायात
# होटेल एभरेष्ट
# होटेल मेरियट काठमाडौं
# काठमाडौं अलफ्ट ठमेल

त्यसो त मोसफलमा पनि होटेल स्थापनाको लहर चलेको छ । भैरहवामा गत वर्ष टाइगर प्यालेस होटेल स्थापना भयो । यो होटेलले पाँचतारे मान्यता पाएसँगै मोफसलमा क्रमशः नयाँ होटेल आउन थालेका हुन ।

फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे वर्गीकरणमा परेको थियो । सोही महिना नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरले समेत पाँचतारे होटेलको मान्यता पायो । पोखरामा ग्रान्ड होटेल र द फूलबारी रिसोर्टले पाँचतारे मान्यता पाएका छन् ।

अहिले मान्यता प्राप्त १५ पाँचतारेमध्ये २ होटेल बन्द अवस्थामा छन् । होटेल एभरेष्ट भूकम्पपछि बन्द भएको हो । अहिले यो होटेल संचालनको तयारीस्वरुप पुनर्निर्माणको क्रममा छ । पोखराको फूलबारी रिसोर्ट भने व्यवस्थापकीय कमजोरीका कारण डुबेको हो ।

उपत्यका बाहिर खुलेका होटेल
टाइगर प्यालेस : भैरहवा
होटेल सेन्ट्रल प्लाजा : कोहलपुर
सोल्टी वेस्टेन्ड प्रिमियर : नेपालगन्ज
ग्रान्ड होटेल : पोखरा
फूलबारी रिसोर्ट : पोखरा

पछिल्लो समय पाँचतारे होटेल ब्राण्ड अन्तरराष्टिय चेन होटेलको छाता मुनी संचालनमा आएका छन् । यसले उनीहरुलाई एकातर्फ पाहुनाको चिन्ता हुने छैन भने अर्कोतर्फ नेपालको ब्राण्ड ख्याती बढाउन पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्छ ।

किनकी यस्तो होटेलको आधिकारिक वेवसाइट, सामाजिक संजालमा नेपालबारे पनि उत्तिकै प्राथमिकताका साथ प्रचार भइरहेको हुन्छ । अहिले शेराटन होटेल ब्राण्डको प्रपटी धमाधम निर्माण भइरहेको छ ।

यसमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानी छ । यसबाहेक पनि अझै आधा दर्जन स्तरीय होटेल अहिले निर्माणको चरणमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here