नेपालमा आगलागी नियन्त्रणमा प्रभावकारी बन्दै हेलिकोप्टरको प्रयोग

अर्जुन न्यौपाने

काठमाडौं, २५ फागुन । नेपालमा आगलागी नियन्त्रणका घटनामा पछिल्लो समय हेलिकोप्टरको प्रयोग प्रभावकारी बन्दै गएको छ । यसैसाता दुई स्थानमा लागेको आगो नियन्त्रण गर्न सिम्रिक एयरको प्रयोग गरिएको छ ।

सिम्रिक एयरले पछिल्लो दुई दिन देखि सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकै जंगलमा लागेको आगो निभाउन खटिएको छ । यो काम आज समेत जारी रहने खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।

यसअघि गत आइतबार तनहुँमा लागेको भीषण आगो नियन्त्रणमा लिन समेत सिम्रिक एयरको प्रयोग गरिएको थियो । नेपालमा सिम्रिक एयरसँग मात्र यस प्रकारको सुविधा छ ।

हेलिकोप्टरबाट नजिकको पानीको स्रोतबाट पानी उठाएर आगो लागिरहेको स्थानमा माथिबाट फाल्ने गरिन्छ । यसले आगो नियन्त्रण निकै प्रभावकारी बनिरहेको छ । नेपालमा आगलागी नियन्त्रणमा हेलिकोप्टरको प्रयोग गतवर्षबाट शुरु भएको हो ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न पहिलो पटक सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिएको थियो ।

सो वर्ष काठमाडौंको शिवपुरी जंगलमा लागेको आगो नियन्त्रणमा समेत हेलिकोप्टरको प्रयोग गरिएको थियो । त्यसपछि काठमाडौंमा नेविको विस्कुट कारखानामा आगलागी हुँदा पनि हेलिकोप्टरको प्रयोग गरिएको थियो ।

खासगरि दमकल सुविधा नभएको, सडक यातायातका पहुँच नपुगेको र स्रोत समेत नभएको स्थानमा हेलिकोप्टरले आगो निभाउन निकै प्रभावकारी भूमिका निभाएको छ ।

जंगल वा ठूलो क्षेत्रमा फैलिएको आगो, राजधानी लगायतका साघुँरो गल्लीमा लाग्ने आगलागी, दमकल पुग्न नसक्ने ठाउँमा आगो नियन्त्रण गर्न हेलिकोप्टरबाट पानी ओसारेर आगलागी नियन्त्रण गर्नु पर्ने विकल्प रहेको छ ।

पछिल्लो समय आगलागीको घटना बढेका छन । यो साता म्याग्दी, सोलु, तनहुँ, काठमाडौंमा आगो लागेको थियो । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ९ खैरेनीमा मंगलवार राती घरमा आगो लाग्दाभित्र सुतिरहेका बालकको मृत्यु भएको थियो ।

त्यस्तै यसै साता पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here