उद्योगले उत्पादन क्षमता बढाए , क्षमता उपयोग ५९.७ प्रतिशत

फाइलफोटो

 

क्लाउडपत्रिका

काठमाडौं, २० माघ । मुलुकमा राजनीतिक अस्थिरता टुङ्गेसँगै उत्पादनमुलक उद्योगहरुको क्षमता उपयोग पनि बढेको छ । आर्थिक वर्ष ०७४÷०७५ मा उद्योगहरुको क्षमता उपयोग ५९ दशमलव ७ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको यस्तो क्षमता उपयोग करिब साढे २ प्रतिशत विन्दुले बढी हो । हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो ।

उक्त अवधिमा ऊर्जा आपूर्तिमा आएको सुधार, बन्द हडताललगायत आपूर्तिजन्य अवरोधमा कमी, संघीय संरचनाअनुसार तीनै तहको सरकार निर्माण, पुनर्निर्माण कार्यमा आएको तीव्रताले निर्माणजन्य सामग्रीको मागमा भएको वृद्धिलगायत कारण उद्योगको क्षमता उपयोगमा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत वर्ष पस्मिना उद्योगले सबैभन्दा बढी ९९ दशमलव १ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसैगरी, बियर उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ८६ दशमलव ३, प्रशोधित चिया उत्पादन गर्ने उद्योगको ८२ दशमलव ४, सिमेन्ट उद्योगको ७४ दशमलव ६ र चाउचाउ उत्पादन गर्ने उद्योग ७३ दशमलव ४ प्रतिशत रहेको तथ्यांक छ । गत वर्ष पस्मिनाको क्षमता उपयोग ९८ दशमलव ५, बियरको ८२ दशमलव १, चियाको ७८ दशमलव ६, सिमेन्टको ७१ दशमलव ८ र चाउचाउको ७९ दशमलव १ प्रतिशत थियो ।

सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगमा चामल उद्योग १४ दशमलव ८ प्रतिशत, कागज उद्योगको ३८ दशमलव ५ प्रतिशत र गहुँको पिठो उत्पादन गर्ने उद्योग ४४ दशमलव १ प्रतिशत रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here