नेपालमा ‘क्रिप्टोकरेन्सी’को अवैध कारोबार : नौ करोड ७४ लाख बिगो दाबी गर्दै दुई जनाविरुद्ध मुद्दा

काठमाडौं, १ चैत । राजस्व अनुसन्धान विभागले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीमा लगानी तथा कारोबार गरेको भन्दै दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागले मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र विनिता लिम्बुविरुद्ध बिगो जफत गरी सजाय माग्दै मुद्दा दायर गरेको हो।

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।

उनीहरुले नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ। विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको छ।

उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैंकबाट रु ८६ लाख ८३ हजार ४२९, सिटिजन बैंकबाट रु दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसि एशिया बैंकबाट रु एक करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैंकबाट रु दुई करोड ३६ लाख ६२ हजार ५३९ गरी कूल रु सात करोड ५७ लाख ७१ हजार ९५८ बराबरको रकम हिनामिना गरेको पाइएको छ ।

यस्तै, आरोपी लिम्बूले एनआइसि एशिया बैंकबाट रु दुई करोड १६ लाख ९८ हजार २४ बराबरको रकम हिनामिना गरेको देखिन्छ । विभागले कूल रु नौ करोड ७४ लाख ६९ हजार ९८३ बराबरको विदेशी विनिमयको अपचलन गरेको अध्ययनमा पत्ता लगाएको छ।

विभागले आरोपीलाई बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ गते अवैध रुपमा विदेशी विनिमयको अवैध कारोबार नगर्न निर्देशन दिएको छ। यस्तै, नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सीको कारोबार नगर्न समेत पटक–पटक केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here