म्यादी प्रहरीमा भर्ना खुल्यो, यस्तो छ सेवा सुविधा (सूचनासहित)

काठमाडौं, १ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ।

म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समय (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म)मा आवेदन दिन सकिने छ।

सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन जारी सूचनामा उल्लेख गरिएको छ ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीहरुलाई प्राथमिकता दिइने बताइएको छ ।

जारी सूचना अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्नेछ, भने फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्डहरु राखिएका छन् ।

म्यादी प्रहरी सम्बन्धी अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुने सूचनामा उल्लेख गरिएको छ । उनीहरुको सेवा अवधि ४० दिन रहेनछ ।

म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ दिइने बताइएको छ ।

त्यस्तै खाद्यान्नबापत् एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने जारी सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here