बजेटमा समट्ने नीतिबारे अर्थ मन्त्रालयले थाल्यो सुझाब संकलन

काठमाडौं,२ चैत । अर्थ मन्त्रालयले विषयगत रुपमा बजेटमा समेट्नु पर्ने नीतिबारे सरोकारवालासँग सुझाव संकलन कार्य शुरु गरेको छ । मंगलबार दिउँसो अर्थले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।

अर्थसचिव मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिए । ‘आगामी आवका लागि बजेट निर्माणको गृहकार्य सुरु भयो भन्ने सन्देश यो छलफलले दिएको छ,’ उनले भने, ‘पहिलो छलफल कृषि क्षेत्रबाट गरिएकाले सरकारले यो क्षेत्रलाई कति प्राथमिकताम राखेको छ भनेर आफैं बुझ्नुस् ।’

अर्थ सचिव मरासिनीले प्रत्येक नीति कार्यक्रम र बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेपनि उत्पादन वृद्धि हुन नसकेको र आयात बढेकोमा सबैले चिन्तित भएर आगामी आवको बजेटमा कृषिमैत्री नीति र बजेट तर्जुमा लागि सहयोग गर्नुपर्ने बताए ।

‘कृषिमा ठूलो जनसंख्या आश्रित छ तर त्यो जनसंख्याको जीवनस्तर किन अपेक्षाकृत सुधार भएको छैन भनेर हामी गम्भीर हुनुपर्नेछ । यसका लागि आजको छलफलबाट उचित सुझाब आउने अपेक्षा गरेका छौं’ उनले भने ।

छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषिलाई पहिलो प्राथमिकतामा राखेकाले सुझाब संकलनको सुरुवात कृषिबाट गरिएको बताए । ‘आगामी आवको बजेटमा कृषिमा अनुदान होइन, किसानलाई प्रोत्साहनको नीति लिइनेछ । यसका लागि कस्तो नीति, कार्यक्रम र बजेट बनाउँदा ठिक होला भनेर सुझाब लिन यो छलफल राखिएको हो’ उनले भने ।

छलफलमा नेपालको माटो सुहाउँदो नीति बनाउन, निर्यातमा सहजीकण गर्न, विना धितो ५० लाख रुपैयाँसम्मको कृषि कर्जा उपलब्ध गराउन, भू–उपयोग नीति कार्यान्वयन गर्न, न्यूनतम समर्थन मूल्य तोकेपछि कार्यान्वयनको जिम्मेवारी सरकारले लिन, उत्पादकत्व बढाउन, खान पुग्ने उत्पादन बढाउन, लगाानीअनुसार प्रतिफलयोग्य बनाउन, अनुसन्धान बढाउनलगायतका सुझाब दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here