विश्वकै स्वादिष्ट पेयको ४१ औं स्थानमा नेपाली रक्सी, पहिलो कुन ?

काठमाडौं, २४ असार । नेपालको रक्सी विश्वकै सबैभन्दा मिठो पेय पदार्थको ४१ औं स्थानमा परेको छ ।

प्रतिष्ठित अमेरिकी सञ्चारमाध्यम सिएनएनले हालसालै प्रकाशन गरेको विश्वभरका सबैभन्दा स्वादिष्ट ५० पेय पदार्थको सूचीमा नेपालको रक्सी पनि समावेश भएको हो ।

परम्परागत विधिबाट बनाइने रक्सीको बास्ना कडा हुने र पिँउदा घाँटीबाटै पोलेको जस्तो आभाष हुने सिएनएनले बताएको छ ।

सिएनएनले लेखेको छ, ‘रक्सी कोदो र चामलबाट बनाईन्छ । पिउने क्रममा रक्सीको कडा वास्ना नाकमा पर्छ र पिएपछि विशेष र आश्र्चयजनक रुपमा मधुर तरिकाले मात लाग्छ ।’

‘नेपालीहरु यस्तो पेय पदार्थ परम्परागत विधिबाट घरमै तयार गरेर विशेषगरी चाडपर्वहरुमा पिइ रमाईलो गर्छन् र हामीलाई पनि लाग्छ यो मुल्यवान पेय आँफैमा एक उत्सव मनाउने कारण हो’, सिएनएनले लेखेको छ ।

नेपाली रक्सीलाई ४१ औं स्थानमा राखेको सिएनएनले पहिलो स्थानमा चैं कुन पेयलाई राखेको होला ? पक्कै पनि तपाईंलाई खुल्दुली लागेको होला तर, यसको उत्तर थाहा पाएपछि भने अचम्ममा पर्नुहुन्छ ।

किनभने सिएनएनका अनुसार विश्वमा पाइने सबैभन्दा स्वादिष्ट पेय पदार्थ चैं पानी हो ।

तपाईंलाई विश्वास लागेन होला तर, सिएनएनले पानीलाई नै पहिलो स्थानमा राखेको छ ।

त्यसो भए सर्वसुलभ र हामीले दैनिक धेरैपटक पिउने पानी कसरी सूचीको पहिलो स्थानमा पर्यो त ?

सिएनएन लेख्छ, यो सूचीमा समावेश भएका सबै पेय र विश्वमा पाइने सबै खानेकुराहरुको आधार, अनि हाम्रो जीवनको पनि आधार स्वच्छ एक गिलास चिसो र शरीरलाई स्फूर्ती दिने पानीलाई विश्वका अन्य कुनै पनि पेयले जित्न सक्दैनन् ।’

सिएनएनले सूचीको दोस्रो स्थानमा भने विश्वभर बिक्रिवितरण हुने चियो पेय कोकाकोलालाई राखेको छ । सबैभन्दा पहिले सन् १८८६ मा अमेरिकामा उत्पादन गरिएको कार्बोनेटेड पेय कोकाकोला विभिन्न रुपमा आए पनि पुरानो ओरिजन कोकाकोलाको स्वाद निकै नै उत्कृष्ट रहेको सिएनएनले बताएको छ ।

त्यस्तै सिएनएनले सूचीको तेस्रो स्थानमा इथियोपियामा आविष्कार भएको पेय पदार्थ कफीलाई राखेको छ । क्यापुचिनो, मोक्का, लाट्टे, अमेरिकानो, एक्प्रेसो आदी विभिन्न स्वादमा उपलब्ध हुने कफीले दिनको सुरुवात धेरै नै राम्रो बनाउने सिएनएनले दाबी गरेको छ ।

सूचीको चौंथो स्थानमा संसारभर लोकप्रिय पेय बियर परेको छ भने पाँचौ स्थानमा पनि संसारभर नै पिइने चिया रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here