फलफूलको आयात उच्च, कागतीमा ९० प्रतिशत भारतसँगै निर्भर

काठमाडौं, ६ चैत । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६ सय रुपैयाँको फलफूल आयत भएको छ ।

चालू आवको साउनदेखि माघसम्ममा आँप, सुन्तला, कागती, अंगुर र स्याउ र कायतीमो आयात उच्च भएको हो ।

तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट रु एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सोही अवधिमा टर्कीबाट रु २६ लाख २५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ ।

समग्रमा चालु आर्थिक वर्षको पहिलो सात महिनामा कूल ४ अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको विभागको तथ्यांकले उल्लेख छ ।

यसैगरी सोही अवधिमा नेपालमा रु ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ ।

नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट रु ७७ करोड ४८ लाख ७२ हजार, साउथ अफ्रिकाबाट रु ९० लाख ७७ हजार र टर्कीबाट रु ११ लाख ६६ हजार ६०० मूल्य बराबरका कूल एक करोड ४५ लाख ७० हजार तीन केजी सुन्तलाको आयात भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट रु ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ ।

कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ ।

नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।

त्यस्तै सोही अवधिमा अंगुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अंगुरको आयात हुने गर्दछ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ४५ करोड ५६ लाख ७७ हजार मूल्य बराबरका सुक्खा र ताजा गरी कूल ४८ लाख ९३ हजार आठ किलोग्राम अंगुर आयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here