नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड, सस्तो सेवा उपलब्धले राजस्वमा कमी

काठमाडौं, २४ चैत । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बिहीवार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बताएका हुन् ।

उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे। ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्व ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ’, अध्यक्ष अर्यालले भने, ‘कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ।’

शेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here