संस्थागत श्रम स्वीकृति अब अनलाइनबाटै, फाइल बोकेर विभाग जानुपर्ने अवस्थाको अन्त्य

काठमाडौं, २४ चैत । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने भएको छ ।

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ ।

यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ ।

वैदेशिक रोजगार कार्यालयमा अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि संस्थागत (म्यानपावर) मार्फत लिने अन्तिम श्रम स्वीकृतीलाई विभागले अनलाइन गरेको हो ।

हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ।

संस्थागत श्रम स्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रम स्वीकृति दिनेछ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रम स्वीकृति लिने गरेको देखिन्छ।

हाल विभागले व्याक्तिगत, वैधानिकीकरण, नयाँ र संस्थागत रूपमा श्रम स्वीकृति जारी गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here